बलेवामा रहेको जनता–धन माविद्वारा बार अनुसार टोल बाँडेर पठनपाठन


पर्बत, असार २२ । विद्यालय बन्द रहेको समयमा विद्यार्थीलाई पठनपाठन प्रक्रियामा सहभागि बनाउनका लागि बागलुङको एक विद्यालयले बार अनुसारको टोल छुट्याएर शिक्षक परिचालन गरेको छ । बागलुङ नगरपालिका वडा नम्बर १४ नारायणस्थानमा रहेको जनता–धन माविले सेवाक्षेत्रभित्रका पाँचवटा टोलहरुमा शिक्षकलाई पठाएर पठनपाठन गर्ने भएको हो । तत्काल शिक्षक टोल टोलमै पुग्नुबाहेक बिकल्प नरहेकाले बारअनुसार टोलहरुमा शिक्षक पुगेर विद्यार्थीलाई पठनपाठनमा आवश्यक सहयोग गर्ने निर्णय भएको विद्यालयका प्रधानाध्यापक कुमार पौडेलले बताए । विद्यालयलाई सिकाई केन्द्र कायम गरेर शिक्षकका पाँचवटा समुह बनाएर काममा लगाईएको हो । विद्यार्थीलाई शिक्षक टोलमा आउने बिषयमा सार्वजनिक सूचनामार्फत जानकारी गराईएको छ । सम्बन्धित टोलको जिम्मेबारी पाएका शिक्षकहरुले कक्षा १ देखि १२ सम्मका सबै बिद्यार्थी भेटेर उनीहरुलाई शैक्षिक क्रियाकलापमा सहभागि बनाई सहयोग गर्ने वातावरण मिलाईएको पौडेलले बताए । विद्यालयको निर्णयअनुसार कैया टोलमा आईतबार, सरंगीमा सोमबार शिक्षकहरु पुग्ने छन् । मंगलबार शिक्षकहरुको संयुक्त बैठक बसेर सातामा भएका गतिविधिको बिषयमा समिक्षा गर्ने विद्यालयले जनाएको छ । बुधबार अर्माह, लाम्पाटा, बैदारटोल, धन्सार, ठुलोखोरलगायतका टोलमा शिक्षक पुग्ने छन्भने बिहिबार गार्लुङ र शुक्रबारका लागि नमुनागाउँ, केटीचौर टोल छुट्टाईएको छ । टोलहरुमा विद्यार्थी संख्याको आधारमा शिक्षकहरुको समुह ठुलो वा सानो बनाएर पठाउन लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव सुवेदीले बताए । विद्यार्थीलाई भेट्ने, उनीहरुलाई पाठ्यक्रम अनुसारका शैक्षिक सामग्री पढ्न लगाउने र गृहकार्य दिनेलगायतका कामहरु तोकिएको छ । सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षा सामग्रीसहित विद्यार्थी र शिक्षक उपस्थित हुन विद्यालयले आग्रह गरेको छ ।

सम्बन्धित खवर