संसारकै लामो बागलुङ र पर्वत जोड्ने झोलुंगे पुल हेर्नेको भिड


पर्बत, साउन १७ । बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि बनेको झोलुङ्गे पुल खुल्ला गरेसंगै हेर्ने सर्वसाधारणहरुको भिड लाग्न थालेको छ । शुक्रबार औपचारीक रुपमा पुल खुल्ला गरीएसंगै पुल हर्ने र सेल्फी खिच्नेको भिड लाग्न थालेको हो । पर्यटन प्रवर्द्धनका हिसावले महत्वपूर्ण मानिएको पुल खुल्ला गर्दाकै दिन सर्वसाधारण भीड लागेको थियो । यो पुल ‘सिंगल स्पान’को संसारकै लामो पुल भएको दाबी गरिएको छ । नगरपालिकाले संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई पत्र लेखेर गिनिजबुकमा दर्ता गराउन पहल गरिदिनसमेत आग्रह गरेको छ । बागलुङ नगरपालिका–१ रामरेखादेखि पाङको अदुवाबारी जोड्ने झोलुङ्गे पुल वैशाखको शुरुमै निर्माण सम्पन्न भएपनि हालसम्म सञ्चालनमा आएको थिएन । लकडाउन हटेसँगै निर्माण कम्पनीले पुल हस्तान्तरण गरेको हो ।

अब दुवै जिल्लाले शुक्रबारदेखि झोलुङ्गे पुलमा ओहोरदोहोर गर्न पाउने गरी सबैका लागि खुल्ला गरेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । ५ सय ६७ मीटर लामो पुल निर्माण नेपालमै पहिलो पटक निर्माण गरिएको हो । पुलले एक पटकमा ६ सय १२ जना (८५ मेट्रिक टन) धान्न सक्ने गरी क्षमता रहेको छ । यसले दुई जिल्लाको पर्यटन तथा आर्थिक विकासमा ठुलो टेवा पुग्ने अपेक्षा गरिएको छ । पुल सञ्चालनमा आएपछि दुई जिल्लाका मात्रै नभएर बागलुङ र पर्वतहुँदै म्याग्दी, मुस्ताङ जाने पर्यटकहरूलाई समेत यसले आकर्षित गर्नेछ। ६ करोड ९१ लाखमा निर्माण तथा जडान सम्झौता भएको पुलको जम्मा लागत १० करोड रुपैयाँ हो । पुल सञ्चालनमा आए देखि ओहोर दोहोर गर्नेदेखि आसपारसका क्षेत्रमा फोटा खिाचाउनको भीड लागेको छ ।

शुक्रबारदेखि खुला गरिएको लामो पुल पहिलो दिनमै अत्याधिक हल्लिएको छ । लामो भएकोले हल्लिएको अनुमान गरेका स्थानीयले असामान्य भएपछि पुलको डिजाइन तथा लठ्ठा तन्काउने काममा कमजोरी भएको समेत टिप्पणी भएको छ । पुल हेर्न गएका मध्ये आधाजसोले तर्न नसकेको गुनासो समेत थियो । नगरपालिकाका वरिष्ठ योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले भने लामो भएको र पहिलो दिन धेरै मानिसले यात्रा गरेकोले यस्तो भएको हुन सक्ने बताउनुभयो । पुल हल्लिएको बारे सामाजिक संजालमा पनि धेरै टिकाटिप्पणी भएको छ ।

सम्बन्धित खवर