५ औ बन दिवसको अवसर पारी पर्वतको प्रसिद्ध बाटुलेचौरमा पीपल बिरुवा रोपण गरीयो


पर्वत, साउन २६ । ५औ वन दिवसको अवसरमा पर्वतको कुस्मा नगरपालिका १२ ठूलीपोखरीमा बृक्षारोपण कार्यक्रम गरिएको छ । ठूलीपोखरी स्थित बाटुलेचौर मन्दिर क्षेत्रमा पीपलका बिरुवा रोपेर दिवसको शुभारम्भ गरिएको हो । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ पर्वत, कुस्मा नगर महासंघ र स्थानीय खरबारी पाखो तथा अवलडाँडा सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा पीपलका बिरुवा रोपिएको हो ।

सो अवसरमा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य खुम प्रसाद सुबेदीले सामुदायिक वनको विकास र सवद्र्धनबाट आम उपभोक्ताको जीवन यापनमा सहज हुने बताउनुभयो । उहाँले वन दिवसलाई औपचारिक रुपमा मनाउने मात्र नभई वनलाई आर्थिक विकाससँग जोड्नुपर्ने बताउनुभयो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ पर्वतका अध्यक्ष कबिता विक, गण्डकी प्रदेश महासंघका सदस्य लिला दवाडी, पर्वतका सचिब गणेश पौडेल, कुस्मा नगर महासंघका अध्यक्ष कुमार सुबेदी लगायतले वन दिवसको महत्वका बारेमा जानकारी गराउनुभयो ।

‘समृद्धिका लागि सामुदायिक वन उत्पादन र उत्पादकत्व वृद्धिमा योगदान’ भन्ने नाराका साथ सामुदायिक वन उपभोक्ता महासंघले देशव्यापी रुपमा वन दिवस मनाउन थालेको हो विसं २०३० साउन २५ गते सिन्धुपाल्चोकको ठोकर्पामा रहेको वन क्षेत्र स्थानीय समुदायलाई व्यवस्थापन गर्न दिइएको दिनलाई आधार मानेर हरेक वर्ष आजैका दिन मुलुकभर सामुदायिक वन दिवस मनाइँदै आएको सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फकोफन) पर्वतले जनाएको छ । दिवसका अवसरमा कोरोना भाइरस संक्रमणका कारण स्वास्थ्यका आवश्यक मापदण्ड पालना गरी विभिन्न कार्यक्रम गरिएको बताईएको छ । महासंघले सप्ताहव्यापी रुपमा अन्य रचनात्मक कार्यक्रम समेत गर्ने गरि कार्यक्रम तय गरेको हो ।

सम्बन्धित खवर