कुश्मा ८ चुवाका नेकपाका गाउँ सचिव काँग्रेसमा प्रवेश


पर्वत, भदौ ३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गाउँ सचिव नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कुश्मा नगरपालिका वडा नम्बर ८ चुवाका नेकपाका सचिव राजुप्रसाद सुबेदी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन । सुबेदीलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् स्थानीय तह समन्वय विभागका केन्द्रीय प्रमुख अर्जुनप्रसाद जोशीले बुधबार एक कार्यक्रमका बिच नेपाली काँग्रेसमा प्रवेश गराएका हुन । आफ्नै पुरानो पार्टी फर्किएकोमा खुशी ब्यक्त गर्दै जोशीले अव अर्को पार्टीमा समेत लिएको अनुभवलाई प्रयोग गर्दै इमान्दार भएर काम गर्न सुबेदीलाई आग्रह गरे । सुबेदी साढे दुई बर्षअघि तत्कालिन नेकपा एमालेमा प्रवेश गरेका थिए । उनी अहिले नेकपाका वडा सचिवको जिम्मेबारीमा थिए । सुबेदीले नेपाली काँग्रेसमा प्रवेश गर्दै विगतमा केही कमीकमजोरीका कारण नेकपामा प्रवेश गरेको भन्दै अव इमान्दार भएर नेपाली काँग्रेसमा काम गर्ने प्रतिबद्धता जनाए ।

अन्य पार्टीबाट प्रवेश गर्ने जुनसुकै नेता कार्यकर्तालाई नेपाली काँग्रेसमा सम्मान रहने भन्दै नेता जोशीले सक्रियताअनुसारको जिम्मेबारी पनि पाउने बताए । नेकपाले अहिले सरकारमा रहेर जनमुखी कुनैपनि काम गर्न नसकेको र निर्वाचनअघि देखाएका सपना कुनैपनि पुरा गर्न नसकेकै कारण गाउँगाउँमा नेकपाका नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेशको लहर चलेको जोशीले बताए । ‘निर्वाचन अघि नेकपाले ठुलाठुला सपना देखायो, जनतालाई भ्रमित पा¥यो तर अहिले एउटा पनि राम्रो काम गर्न सकेको छैन, त्यसैले नेकपामा मतदान गर्ने मतदाता अहिले पछुताएका छन्, नेकपाका कार्यकर्ता गाउँगाउँमा काँग्रेसमा प्रवेशको लहर चलेको छ’ जोशीले भने–‘अन्य कुनै पार्टी मन नपराएर काँग्रेसमा आउनेलाई सक्रियताअनुसारको जिम्मेबारी र सम्मान दिन काँग्रेस तयार छ ।’

कोरोनाको कहरमा अलपत्र परेका नेपालीको उद्दार गर्ने, बाढी पहिरोको चपेटामा परेका जनतालाई उद्दार तथा राहत र ब्यवस्थित, सुरक्षित राख्ने, जनताका आवश्यकतालाई पुरा गर्नुको सट्टा सत्ताको झगडामा फसेको नेता जोशीले बताए । ‘जनताले दुई तिहाइ मत दिएको पार्टीभित्रकै सत्तामा को जाने भनेर झगडा गरेर बस्नका लागि हो ?’ जोशीले भने । नेपाली काँग्रेस कुश्मा –८ का वडा सभापति देवीप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस यातायात समन्वय विभागका केन्द्रीय सदस्य शिवप्रसाद सुबेदी, कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछाने, कुश्मा–८ का वडा अध्यक्ष राजकुमार क्षेत्री लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस वडा सचिव लक्ष्मण पौडेलले गरेका थिए ।

सम्बन्धित खवर