भूमि समस्या समाधान आयोग पर्वतको संयोजकमा भक्त कुँवरकै चर्चा, जिल्ला समिति धमाधम गठन हुँदै


पर्वत, भदौ ६ । सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ । देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात प्रदेश सरकारले तोकेका एक एक जना सदस्य रहने व्यवस्था सहित गठन भएको आयोगमा ७७ जिल्लामै समिति गठन हुदैछन् । जिल्लामा एक जना संयोजक सहित ७ सदस्य रहेको समिति गठन हुनेछ । आयोगको सिफरिसमा सरकारले ७७ जिल्ला समितिमा संयोजक र दुई सदस्य नियुक्त गर्नेछ भने अन्य सदस्यमा जिल्ला भूमिसुधार, नापी र वन कार्यालयका प्रमुख रहनेछन् । एक सदस्य सचिव भने जिल्ला समन्वय अधिकारी रहने व्यवस्था गरिएको छ ।

यसरी आयोगको सिफारिसमा जिल्ला समिति गठन हुने भएपछि जिल्लामा संयोजक र अन्य दुई सदस्यको नियुक्तिसम्बन्धी दौडधुप सुरु भएको छ । सत्तासीन दलकै तर्फबाट जिल्लामा यतिबेला विभिन्न नाम चर्चामा छन् । जिल्ला संयोजकका लागि भक्त कुँवर, देवेन्द्रराज पाण्डे ,प्रेम लामिछाने, केशव कुँवर ‘श्रीजनशील’, लगायतका नाम चर्चामा छन् । कुँवर, पाण्डे र लामिछाने पुर्व एमालेको जिल्ला राजनितीमा अत्यन्त सक्रिय व्यक्तित्व हुन भने श्रीजनशील पुर्व माओवादी राजनीतिमा सकृय थिए ।

भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवास व्यवस्थापन गर्ने विषय अत्यन्त महत्त्वपूर्ण भएका कारण यो क्षेत्रमा काम गर्ने इच्छा भएको कुँवरले बताए । “छलफल गरेरै नाम टुंगो लगाएर पठाउने कुरामा सहमति भएपनि पछिल्लो समय कुनै छलफल भएन, तर मेरो नाम सिफारिस भएको कुरा जानकारी पाएको छु ।” उनले भने ।अवसर प्राप्त भए भुमि सम्बन्धि जिल्लाका यस्ता यावत समस्या समाधान गर्न अहोरात्र खटिने अर्का आकांक्षी पाण्डेले बताए । जिल्लाबाट सिफारिस भएका नाम प्रदेशले अनुमोदन गरेर पठाउने भएका कारण जिम्मेवारी पाउने विषयमा यसै भन्न नसकिने उनको भनाई छ । संयोजक संगसंगै दुईजना सदस्य पनि मनोनयन हुने भएपछि लामो समय राजनीतिक तथा सामाजिक क्षेत्रमा काम गरेका विभिन्न व्यक्तित्वहरुका समेत अपेक्षा देखिएका छन । समितिमा खुम प्रसाद सुवेदी , मनरुपा शर्मा, तारा पराजुली , मिनराज केसी, बाबुराम कार्की, पुष्पा चापागाईं लगायतले आकांक्षा राखेको बताइएको छ ।

जिल्लाका बरिस्ठ नेताहरु संग छलफल नगरी सचिवालयमा कुनै निर्णय नगराई सिनियर नेताहरुलाई पन्छाएर मनोमानी ढंगले भौगोलिकतालाई समेत ध्यन नदिइ सुटुक्क नाम पठाएकोमा पार्टी पंक्तिमा ब्यापक असन्तुष्टि छाएको नेकपाका एक जिल्ला नेताले बताए । पार्टी एकीकरणपछि सीमित अवसर, तर नेता तथा कार्यकर्ताका असीमित अपेक्षा भएका कारण प्राप्त अवसरलाई सहज हिसाबले योगदानका आधारमा वितरण गर्दा उपयुक्त हुने ति नेताको भनाई छ । “सम्बन्ध तथा निकटताका आधारमा जिम्मेवारी दिंदा पार्टी र संस्था प्रति वितृष्णा पैदा हुने कुरा नेतृत्वले ख्याल गर्नुपर्छ” उनले भने ।

आयोगको जिल्ला समितिमा नेकपाका जिल्ला अध्यक्ष तथा सांसद पदम गिरीले संयोजकमा देवेन्द्र पाण्डे , सदस्यमा मनरुपा शर्मा र पुष्पा चापागाईंलाई सिफारिस गरेको उनले बताए । सदस्य दुवै माओवादी निकट राजनीतिमा सकृय छन । उता आयोगको जिल्ला समितिमा पुर्व माओवादीका तर्फबाट संयोजकमा श्रीजनशील, सदस्यमा शर्मा र मिनराज केसीलाई सिफारिस गर्न दबाव आएको बताइएको छ ।

सम्बन्धित खवर