विपतबाट जोगिन वातावरणमैत्री विकास ः अध्यक्ष तिमिल्सिना


पर्वत, असोज २३ । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले हरेक पूर्वाधारको विकास गर्दा वातावरण संरक्षणलाई ध्यान दिनुपर्ने बताएका छन् । मानविय क्रियाकलापका कारण प्रकृतिमा परेको असरले दैवि प्रकोपको सामना गर्नुपरेको भन्दै तिमिल्सिनाले पूर्वाधारको निर्माण गर्दा कम्तिमा २५ प्रतिशत बजेट वातावरण संरक्षणमा खर्चिनुपर्ने बताए । शुक्रबार पर्वतको जलजला गाउँपालिकामा २९ घरपरिवार विस्थापित हुनेगरी गएको पहिरोको निरीक्षण गर्दै तिमिल्सिनाले जोखिममा रहेको बस्ती स्थानान्तरणका लागि पहल गर्ने प्रतिवद्वता जनाएका छन् । उनले जथाभावी खनिएका सडकका कारण प्राकृतिक संरचनामा असर परेको र त्यसले बाढी पहिरोजस्ता विपत् निम्त्याएको बताए ।

‘भूगर्भ विद्हरुको अध्ययनपछि बस्तीको स्थानान्तरणको विषयमा सरकारले काम थाल्छ’ उनले भने ‘हामीले विकास गर्दा प्रकृति जोगाउने उपयहरुको विषयमा पनि खोजौं ।’ पहिरो न्युनिकरणका लागि आवश्यक बजेटको व्यवस्थापन गर्ने आश्वासन दिँदै तिमिल्सिनाले अहिलेको आवश्यकता पूर्तिका लागि सर्वसाधारणलाई सहयोग गर्न स्थानीय सरकारसँग आग्रह गरेका छन् । उनले हरेक काममा बायो इञ्जिनियरिङ गर्नुपर्ने भन्दै प्राविधिकको सल्लाहबिना बनेका सडकका कारण धेरै क्षति हुने गरेको बताए । ‘अब आँफै इञ्जिनियर बनेर हामीले सडक बनाउने होईन, अध्ययन गरेर मात्रै काम गर्नुपर्छ’ तिमिल्सिनाले भने ‘भोलिको क्षति कम गर्न पनि वातावरण जोगाउन आवश्यक छ ।’

गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले पुननिर्माणको लागि प्रदेश सरकार साथमा रहेको बचन दिए । उनले सरकार र पीडित दुवै मिलेर पुननिर्माण र पुनस्थापनका काम गरिने बताए । जलजला गाउँपालिका–७ धाईरिङमा मिलानचोक–सल्यान–धारापानी सडक निर्माणका क्रममा २९ ठाउँमा पहिरो खस्दा सडकको बिचमा पर्ने किराखोर गाउँका २९ परिवार विस्थापित भएका छन् । पहिरोले पटक पटक जमिन कटान गर्न थालेपछि उक्त गाउँका सबै परिवारले घर छोडेका थिए । भुगर्भविद्सहित जलजला पुगेका अध्यक्ष र प्रदेशका मन्त्रीले बस्ती व्यवस्थापनको आश्वासन दिएका छन् । पहिरोको क्षतिबारे वडा अध्यक्ष टुंगनाथ शर्माले जानकारी गराएका थिए । त्यस्तै, वडामा सिंचाइ कुलो, खानेपानीलगायतका संरचनामा बाढीपहिरोले पु¥याएको क्षतिबारे नेकपा जलजलाका अध्यक्ष दिपक आचार्यले राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको ध्यानाकर्षण गराएका थिए । अध्यक्ष तिमिल्सिना र मन्त्री लम्सालले जलजलाकै वडा नं. ८ लस्ती र वडा नं. १ बासखर्कमा पनि पहिरोको स्थलगत निरीक्षण गरेका थिए ।

सम्बन्धित खवर