पर्यटकीय गन्तव्य बन्दै महाशिलाको मुसुरीडाँडा


पर्वत ,फाल्गुन १६ । स्याङ्जाको अर्जुन चौपारि गाउँपालिकाका रमेश पौडेल बिदाको दिन पारेर महाशिला गाउँपालिका –३ बालाकोट स्थित मुसुरिडाडा आइपुग्नुभयो । सामाजिक सञ्जालमा यस ठाउँको बारेमा सुनेका पौडेल साथीहरुसँग मिलेर घुम्नका लागि यस क्षेत्रमा आइपुग्नु भएको थियो । मुसुरीडाँडामा पुगेपछि सामाजिक सञ्जालमा पढेको भन्दा पनि बढी आनन्द महसुस गरेको पौडेलले बताउनुभयो । ‘सामाजिक सञ्जाल फेसबुक, युट्यूब लगायतमा मुसुरीडाँडाको तस्वीर, भिडियो हेर्थे, घुम्नैपर्ने ठाउँ जस्तो लागेको थियो,’ उहाँले भन्नुभयो, ‘यहाँ आएपछि यहाँको दृश्यले मनै लोभ्यायो ।’
पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्य तथा पिकनिक स्पोर्टको रुपमा उदाँउदै गरेको यस ठाउ बिदामा घुम्ने उपयुक्त गन्तव्य समेत बन्न पुगेको छ । बिदाको समय तथा बिषेशगरि शुक्रबार र शनिबार पारेर पोखरा स्याङ्जा लगायत विभिन्न ठाउँबाट यहाँ अत्याधिक आन्तरिक पर्यटक आउने गरेको स्थानीय सामाजिक ब्यक्तित्व बिमल रिजालले बताउनुभयो । बिदामा सवारि साधन तथा पैदल हिडेर पनि दैनिक पाँच सय भन्दा बढी पर्यटक आएको उहाँले बताउनुभयो । गत शुक्रबार र शनिबार मात्रै करिब एक हजार आन्तरिक पर्यटक यहाँ आएका छन् ।

महाशिला गाउँपालिका–३ बालाकोटका वडाध्यक्ष रोशन गुरुङले बिदा पारेर यहाँ घुम्न र पिकनिक खान आउने आन्तरिक पर्यटकको भीड लागेको उहाँले बताउनुभयो । ‘बिदामा घुम्ने उपयुक्त गन्तव्यको रुपमा मुसुरीडाँडा विकास भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘दिउँसो मात्रै नभई रातको समयमा पनि यहाँ रात बिताउन पर्यटक आतुर रहे ।’ त्यसको लागि पहल भईरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार रातिको समयमा टेण्ट टाँगेर सुत्ने र बिहान सबेरै सूर्योदयको दृश्यावलोकनका लागि पनि आन्तरिक पर्यटक आउने गरेका छन् । पर्वत जिल्ला भित्रकै विभिन्न ठाउँ र छिमेकी जिल्लाहरुबाट पनि यस ठाउँमा पर्यटक आउन थालेका छन् । जाडो मौसम शुरु हुन सकिए सँगै थप पर्यटक आगमन बढ्ने अनुमान छ । यहाँ बाट पाँच वटा हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । साथै कुश्मा बजार, फलेवास, गुल्मि र स्याङ्जा को सुन्दर ठाउँ एवं मनोरम दृश्यहरु यहाँबाट देखिने स्थानिय ख्याम गुरुङले बताउनुभयो । पर्यटकको चहलपहल बढ्न थालेसँगै पर्यटकीय पूर्वाधार निर्माण पनि शुरु भएको छ । गाउँपालिकाको डेढ लाख र वडाको डेड लाख गरि तीन लाखको लागतमा भर्खर मात्र ट्रष्ट निर्माण सम्पन्न गरिएको निर्माण समितका सचिव अमृत गुरुङले बताउनुभयो । थप पूर्वाधार निर्माण गर्ने गाउँपालिकाको योजना छ । यहाँ बाट दृश्यावलोकनका लागि आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै डाँडाको छेउमा रेलिङ निर्माण गर्ने तयारिमा पनि गाउँपालिका जुटिरहेको छ ।

सम्बन्धित खवर