पत्रकार महासंघ पर्वतद्धारा बरिष्ठ सदस्य पहाडीको अध्यक्षतामा ३ सदस्यीय निर्वाचन समिति गठन


पर्वत, फाल्गुन १९ । नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनलाई केन्द्रित गरेर पर्वतमा निर्वाचन समिति गठन गरिएको छ । महासंघका शाखा अध्यक्ष छविलाल तिवारीको अध्यक्षतामा बुधबार बसेको बैठकले बरिष्ठ सदस्य राजेन्द्र पहाडीको अध्यक्षतामा ३ सदस्यीय निर्वाचन समिति गठन गरेको हो । जसको सदस्यमा नेपाल बारका तर्फबाट अधिवत्ता जगदिश शर्मा र महासंघका सदस्य प्रकाश बराल रहनुभएको छ । पत्रकार महासंघको आगामी चैत्र पहिलो साता निर्वाचन गर्ने तयारी रहेको छ । यसपटक नयाँ संघीय अभ्यासमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमा महासंघले निर्वाचन गर्दैछ । केन्द्र, प्रदेश र जिल्लाको एकैसाथ सबै साधारण सदस्यले मताधिकार प्रयोग गर्न पाउने व्यवस्था सहित निर्वाचन गरिने अध्यक्ष तिवारीले बताउनुभयो ।
पत्रकार महासंघमा बिधानतः तीन वर्षको कार्यकाल हुन्छ । तर, यस पटक कोरोना महामारी र पत्रकार महासंघ पहिलो पटक केन्द्रीय पार्षद र प्रदेश पार्षदको व्यवस्था खारेज गरेर प्रत्यक्ष निर्वाचन प्रणालीमा गएकाले थप एक वर्ष बितेको छ । यसपटक जिल्लाबाटै सबै साधारण सदस्यले केन्द्र, प्रदेश र जिल्लाको नेतृत्व चयनका लागि एकसाथ मतदान गर्नेछन् ।

सम्बन्धित खवर