उद्योग बाणिज्य संघ पर्वतको निर्वाचनमा प्रजातान्त्रिक समुहबाट अध्यक्षमा शिव शर्मा पौडेलको उम्मेदवारी

पर्वत, फागुन २३–पर्वत उद्योग बाणिज्य संघको १७ औ अधिवेशन अन्र्तगत आगामी चैत्र ७ गते कुश्माबजारमा निर्वाचन हुँदैछ । लामो समय उद्योग बाणिज्य संघको पकड आफ्नो पक्षमा राखेको प्रजातान्त्रिक समुहले विगत दुई कार्यकाल नेतृत्व गर्न बञ्चित रह्यो । प्रजातान्त्रिक समुहबिच विभाजन ल्याएर दुई कार्यकाल नेतृत्व लिन सफल भएको बामपन्थी समुहलाई पराजित गर्न यसपटक प्रजातान्त्रिक समुह एकढिक्का देखिएको छ । विगत २३ बर्षदेखि उद्योग बाणिज्य संघमा काम गर्दै आएका शितल डेरी उद्योगका सञ्चालक शिव शर्मा पौडेलको नेतृत्वमा प्रजातान्त्रिक समुह प्रतिष्पर्धामा जुटेको छ । विगतमा टुटफुटले गर्दा नेतृत्व फुत्किएपनि यसपटक पनि प्रजातन्त्रबादी उद्योगी, ब्यापारीहरु एकढिक्का देखिएका छन् । कुश्मा नगरपालिका वडा नम्बर ९ कटुवाचौपारी घर भएका अध्यक्ष पदका उम्मेदवार पौडेलले झण्डै तीन दशकदेखि कुश्माबजारमा शितल डेरी उद्योग सञ्चालन गर्दै आएका छन् । घरेलु तथा साना उद्योग महासंघ पर्वतको अध्यक्षलगायत दर्जनौ संघसंस्थामा आबद्ध र नेतृत्व गर्दै आएका पौडेलले लामो समयदेखि पर्वत जिल्लामा पर्यटन भित्राउनका लागि पर्यटन प्रर्बदनको काममा समेत सक्रिय रहदै आएका छन् ।

पर्वत जिल्लामा कुश्मा–ज्ञादी जोड्ने बिश्वकै अग्लो पुल निर्माण भएपछि मात्रै पर्यटकहरु आउने क्रम बाक्लिएको हो । २०६५ सालमा तत्कालिन अवस्थामा पर्वत उद्योग बाणिज्य संघको सदस्य पदमा कार्यरत पौडेलले कुश्मा–ज्ञादी अग्लो झोलुङ्गे पुल निर्माण समितिको अध्यक्ष भएर काम गरेका थिए । पौडेलकै नेतृत्वमा पर्वतका मुख्य पर्यटकीय क्षेत्रको अवलोकन तथा पर्वतमा कसरी बढीभन्दा बढी पर्यटक भित्राउन सकिन्छ, पर्यटकीय क्षेत्रको विकास तथा प्रबद्र्धन गर्न सकिन्छ भनेर सम्बन्धित निकायमा पहल हुँदै आएको छ । पर्वतको उद्योगी, ब्यावसायीका साथै साना ब्यावसायीको पिरमर्कासमेत राम्रोसँग बुझेका पौडेलको बिजयले पर्वतको पर्यटन क्षेत्रको विकाससँगै ब्यावसायीहरुको हकहितका साथै कोरोनालगायतको समस्याबाट ग्रसित ब्यावसायीको पक्षमा काम गर्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित खवर