पर्वतमा उद्योग वाणिज्य सङ्घको बढ्यो चुनावी सरगर्मी, दुबै पक्ष मतदाता रिझाउन गाउँगाउँमा

पर्वत, फाल्गुन २९ । पर्वतमा उद्योग वाणिज्य सङ्घको चुनावी सरगर्मी बढेको छ । व्यवसायीहरूको साझा संस्थाको रूपमा स्थापित रहेको उद्योग वाणिज्य सङ्घको १७ औँ चुनावी अबिधेशन हुन लागेको हो । यस अघि २०७४ सालमा उद्योग वाणिज्य सङ्घको अबिधेशन भएको थियो । नयाँ नेतृत्व चयनको लागि दुई समूह चुनावी मैदानमा खरो रूपमा उत्रिएका छन् । दुवै पक्षले आफ्नो समूहको विजयी सुनिश्चित रहेको दाबी गर्दै व्यवसायीहरूको घरदैलोमा जुटेका छन् । गोपि अधिकारी र शिव शर्मा पौडेलको नेतृत्वको दुवै समूहले आफ्नो समूहलाई व्यवसायीहरूको साझा समूह भनेर प्रचार गरिरहेका छन् । चैच ७ गते हुने उक्त उद्योग वाणिज्य सङ्घको निर्वाचनको चुनावी प्रचारप्रसार हेर्दा संसदीय निर्वाचनको झल्को देखिन्छ । प्रचारमा दुवै समूहले आफ्नो समूह साझा भनिएता पनि दुवै समूहमा राजनितिक रङ्ग प्रस्ट देखिन्छ । गोपी अधिकारी नेतृत्वको समूहलाई नेकपाको प्रत्यक्ष सहयोग रहेको देखिन्छ । निर्वाचनको संघारमा नेकपा बिभाजन भएर साबिक नेकपा एमाले र माओबादी केन्द्र बने पनि फुटको असर भने नपर्ने दाबी ब्यवसायीले गरेका छन् । सबै बाम एक ठाम भन्ने नितिलाई अबल्म्बन गरी प्यानल तयार गरीएको पुर्व अध्यक्ष हरीओम शर्मा लामिछाने बताउँनुहुन्छ । उता शिव शर्मा पौडेल नेतृत्वको समुहलाई भने नेपाली काँग्रेसको प्रत्यक्ष सहयोग रहेको देखिन्छ । सदरमुकाम कुश्मा बजार सहित जिल्लाका अन्य ठाउँका उद्योगी ब्यवसायीहरुलाई समेटेर ‘संस्थामा सुसाशनः व्यवसायमा आधुनिकीकरण’ भन्ने नाराका साथ सबैको साझा प्यानलको रुपमा निर्वाचनको लागि उम्मेद्वारी घोषणा गरिएको पौडेल नेतृत्वको दाबि छ ।

अधिकारी बिगत २०५५ साल यता देखि उद्योग वाणिज्य सङ्घमा आबद्ध रहनुभएको छ । २०५५ सालमा आमन्त्रीत सदस्य, २०६९ सालमा द्धितिय उपाध्यक्ष, २०७२ मा बरिष्ठ उपाध्यक्ष हुँदै वर्तमान कार्यसमितिमा पनि वरिष्ठ उपाध्यक्ष रहनुभएको छ । भने पौडेल २०५२ साल देखी उद्योग वाणिज्य सङ्घमा आबद्ध रहनुभएको छ । २०६९ सालमा कार्य समिति सदस्य, २०७२ मा उद्योग उपाध्यक्ष र वर्तमान समितिमा सदस्यको रुपमा रहेर काम गर्दै आउनुभएको छ । दुबै समुहले आफ्नो प्रतिबद्धताहरु समेत सार्वजनिक गरिसकेका छन् । अधिकारी समूहले हरेक पालिकामा उपशाखा खोल्ने वातावरण बनाई १ लाख सम्म प्रोत्सहान स्बरुप रकम दिने, जिल्लामा भएका सात वटै पालिका भित्र रहेका बिभिन्न सम्भावनाको उपशाखा मार्फत खोजी गरी नेपाल सरकार तथा सम्बन्धित ठाउँमा त्यसको प्रर्बद्धनको लागि पहल गरिने, नेपाल सरकार समक्ष प्रस्तुत गरिएको नयाँपुल देखि कास्कीको हेम्जा सम्म सुरुङ मार्गको सम्भाब्यता अध्ययनलाई ठोस निष्कर्शमा पुर्याउने गरि काम गरीने, पर्वत सदरमुकाम कुश्मा बजार आसपास देखि बागलुङको भैरबथान सम्म केबलकारको अबधारणा सहित जग्गा खोजीको पहलसंगै काठमाडौमा रहेको चन्द्रागिरी केबलकारका सञ्चालकसंग समबन्य गरी काम अगाडि बढाईने, पालिका स्तरबाटै उद्योग नबिकरण, राजश्व संकलन लगायतका काम सुचारु गरिने, उद्योग बाणिज्य संघको बर्तमान ६१ लाखको कोषलाई बृद्धि गरी १ करोड बढी पुर्याउने लगायतका ३० बुदाँमा अधिकारी समुहले प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।

उता पौडेल समुहले पनि संस्थालाई स्थापना काल देखी हाल सम्म ल्याई पु¥याउन आफ्नो महत्त्वपूर्ण योगदान रहेको दाबी गर्दै उद्योग बाणिज्य संघको नबिकरण मोवाईल एप्सबाटनै गर्न सकिने, उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायीहरुको रु. १० लाखको निशुल्क दुर्घट्ना बिमा गरिने, प्रत्येक उपशाखालाई २०÷२० लाखको कोष बनाइने, पर्वत उद्योग वाणिज्य संघका अधिकारहरुलाई विकेन्द्रिकरण गरेर उपशाखालाई थप शक्तिशालि बनाइने, आगामी अधिबेसनबाट नेतृत्व चयनका लागि प्रत्येक उपशाखामा नै मतदान गर्ने व्यवस्था गरिने, कुश्मा बजारका अनि व्यस्त ठाउँहरुमा व्यवस्थित शौचालयको स्थापनाका लागि स्थानिय निकायसँग पहल गरिने, प्यान, भ्याट, टयाक्स लगायतबारे सम्बन्धित ठाउँमै पुगेर तालिमहरु सञ्चालन गर्ने, बजार तथा पर्यटकीय क्षेत्रमा आवश्यक सरसफाइ तथा बजारभित्र विकास निर्माणका कार्यहरुमा ठेकेदारले ढिलाई गरेकोमा छिटो छरितो रुपले सम्पन्न पार्नका लागि स्थानीय निकायसँग विशेष पहल गर्ने, खेल मैदानको व्यवस्थापनका लागि सम्बन्धित निकायहरुसँग आवश्यक सहकार्य र पहल गर्ने, आधुनिक प्रविधिमा आधारित व्यवस्थित बसपार्क निर्माणमा समन्वय गर्ने लगायतका ३८ बुँदामा पौडेल समूहले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् । दुबै समुहबाट एक एक अध्यक्ष सहित दुर्इृ महिला र बिस जना सदस्य गरी २३ जना चुनाबि प्रतिस्पर्धामा रहेका छन् ।

सम्बन्धित खवर