पर्वतमा कांग्रेसको चुनावी चहलपहल बढ्यो, जिल्ला सभापतिमा आकांक्षीको लर्को


पर्वत, साउन ३ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मिति तय भएपछि जिल्लामा चुनावी चहलपहल बढेको छ । जिल्लाका नेताहरुले विभिन्न पदमा आफ्नो उम्मेदवारी दावी गर्न शुरु गरेका छन । जिल्ला सभापतिमा मात्रै हालसम्म आठ जनाले उम्मेदवार हुने जनाएका छन । जसको लागि कसरी समूहमा पर्ने, केन्द्रीय नेताको राय र सल्लाहअनुसार अगाडि बढ्ने भन्दै कसरत शुरु हुन थालेको छ । आगामी साउन १२ गते तोकिएको महाधिवेशनमा पर्वतका ५ गाउँपालिका र २ नगरपालिकासहित ७ स्थानीय तहमा रहेका करीब १२ सय बढी क्रियासिल सदस्यले सहभागिता जनाउने नेपाली काग्रेसले जनाएको छ ।
सङ्घीयताको संरचना अनुसार कांग्रेसले पहिलो पटक महाधिवेशन गर्न लागेकाले यस पटकको महाधिवेशनलाई फरक तरिकाले हेरिएको नेपाली काँग्रेसका नेता तथा संविधानसभा सदस्य अर्जुन जोशिले जानकारी दिनुभयो । उहाँका अनुसार महाधिबेशनको तयारी अन्तिम चरणमा पुगेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले कुनै हालतमा पनि अधिबेशन नरोकिने संकेत गरेसँगै अहिले केन्द्रदेखि जिल्ला तहसम्म महाधिवेशनको तयारी थालिसकिएको उहाँले बताउनुभयो । जोशिले काँग्रेस जनताको मनमनमा बसेको पार्टी भएकोले सबैलाई मिलाएर अगाडि बढ्ने दाबि गर्नुभयो । उहाँले जिल्ला सभापतिको हकमा सहमति र सहकार्य अनुसारनै नेतृत्व टुङ्गगो लाग्ने बिश्वास समेत दिलाउनुभयो । जिल्ला सभापति खिमप्रसाद भुषालले निर्वाचन गर्न कार्यतालिका बनेको जानकारी दिनुभयो । सभापति भुषालले जिल्लामा केन्द्रबाट सर्कुलर आइसकेको बताउनुभयो । “माथिबाट निर्वाचन तालिका समेत आएर सोही अनुसार काम अगाडी बढाउन भनिएको छ”, उहाँले भन्नुभयो,” अब कुनै पनि हालतमा अधिवेशन रोकिँदैन । चुनाव हुने निश्चित जस्तै भएपछि कोभिडको अवस्थामा पनि उम्मेदवारहरु आफ्नो पक्षमा मत तान्न लागिपरेका छन् । “सबै जना अहिले सहमतिकै पक्षमा लागिराखेका छौँ । सामाजिक सञ्जाल हेर्दा त आकाङ्षी धेरै देखिएका छन् । पार्टीको बैठक निरन्तर चलिरहेको छ, आगामी साउन १२ गते वडा अधिवेशन, १६ गते गाउँपालिका तथा नगरपालिका अधिवेशन, २० गते क्षेत्रीय अधिवेशन, २३ गते जिल्ला अधिवेशनको तयारी गरेको छ । पार्टीको बैठकबाट नै हामी अन्तिम निर्णयमा पुग्नेछौ”, पार्टी सभापति भुषालले भन्नुभयो । समापति पदका आकाङषीहरुको नाम निकै चर्चामा रहेपनि अन्य पदका उमेदवारको भने खासै नाम सुनिएको छैन् ।

जिल्ला सभापतिमा उम्मेदवारको लर्को
अधिवेशनको मिति नजिकिदै जाँदा पर्वतमा आफूलाई सभापतिको उम्मेदवार घोषणा गर्नेको संख्या पनि बढ्दै गइरहेको छ । वर्तमान सभापति खिमप्रसाद भुषाल दोहोरिने चाहानामा हुनुहुन्छ । १३ औ जिल्ला अधिवेशनबाट सभापति पदमा निर्वाचित भुषालले फेरि पनि सभापति बन्ने इच्छा रहेको बताउनुभयो । ‘सभापतिमा दोहोरिने इच्छा त छ तर सबैसँग छलफल हुन्छ, सल्लाह अनुसारै अगाडि बढ्ने ’ भुषालको संकेत छ । अर्का दाबेदार बर्तमान कोषध्यक्ष रहेका नेता रामकृष्ण मल्लले आफूलाई पार्टिले दिएको जिम्मेवारी अहिले सम्म राम्रो संग पुरा गरेको अनुभव भएकोले उक्त आधारमा मेरो सभापति पदमा दाबी रहने बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टी सभापतिका लागि सबैले मलाई रुचाएका छन्, साथीहरुको माग बमोजिम मैले उमेदवारी दिने तय गरेको छु ।” पार्टीको लागि जस्तोसुकै कठिन घडीमा पनि पछि नहटेको दाबि गर्दै पार्टीले आफूप्रति न्याय गर्ने विश्वास रहेको बताउनुभयो ।

सभापतिकै उम्मेदवारको चर्चामा छन् अर्का नेता रहनुभएको छ युवराज जोशि । पार्टीको तर्फबाट जनसम्पर्कका कार्यहरुमा बढी क्रियाशील देखिने जोशिले पनि सभापतिमा आफ्नो दावी सार्वजनिक गर्नुभएको छ । महाधिवेशन प्रतिनिधी युवराज जोशीले भन्नुभयो, ‘जिल्लामा बसेर खट्न सक्ने, कार्यकर्ताहरुको भावना बुझ्न सक्ने व्यक्ति नेतृत्वमा आउनु पर्छ भन्ने मेरो मान्यता हो । अहिले चर्चामा रहे जति नेताहरु अधिवेशनमा उम्मेदवार नहुने जोशि बताउनुहुन्छ ।

त्यस्तै अर्को उम्मेदवार नेविसंघ पर्वतका सभापति मिलन सुवेदी । नेबिसंघ पर्वतको १३ बर्ष अध्यक्ष रही निरन्तर रुपमा काम गरेको अनुभव रहेको कारण पार्टीले आफुलाई पनि कदर गर्ने र आफुले उम्मेदवारी घोषणा गरेको उहाँले बताउनुभयो । भुषाल, मल्ल र जोशि र सुबेदीसँगै सभापति पदको उम्मेदवारका लागि वर्तमान महासमिति सदस्य तथा पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारी, महासमिति सदस्य गंगाधर तिवारी, महाधिवेशन प्रतिनिधी तथा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, लगायतको नाम चर्चामा रहेको छ । तर अहिले युवाको एक जमात वडा तहदेखि जिल्लासम्म आफ्नो उपस्थिति हुनुपर्नेमा जोड दिइरहेका छन् । आगामी साउन १२ गते तोकिएको महाधिवेशनमा ५ गाउँपालिका र २ नगरपालिकाका ६१ वडाका करिब १२ सय प्रतिनिधीले भाग लिने जनाईएको छ । काँग्रेस पर्वतमा ९ हजार ६ सय क्रियाशील सदस्य टुंगो लागेको भएपनि केही वडाहरुमा भने सदस्यता विवाद रहेको छ ।

सम्बन्धित खवर