अनेरास्ववियू पर्वतद्धारा माधवकुमार नेपालको पुत्ला दहन

पर्वत, साउन ४ । नेकपा एमाले निकट अनेरास्ववियू पर्वतले पूर्व प्रधानमन्त्री तथा एमाले बरिष्ठ नेता माधवकुमार नेपालको पुत्ला दहन गरेको छ । सदरमुकाम कुश्माबजारमा निकालिएको बिरोध जुलुसमा बरिष्ठ नेता नेपालसँगै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने नेताहरुको पुत्ला जलाएको हो । उनिहरुले पार्टी विभाजन गर्न खोजेको भन्दै माधव नेपाल लगायत देउवाको पक्षमा मतदान गर्नेविरुद्ध नाराबाजी समेत गरेका थिए । सुर्य चिन्हबाट निर्वाचन जितेर रुख काँग्रेस नेतालाई प्रधानमन्त्री बनाउन मतदान गर्ने जो कोहिपनि एमाले हुन नसक्ने बताउँदै यस्ता नेताहरुलाई पार्टीले कडा भन्दा कडा कारवाहि गर्नुपर्ने विद्यार्थी नेताहरुले जनाएका छन् । विद्यार्थीहरुले जलाएको पुत्ला सुरक्षा निकायले निभाएको थियो । अनेरास्ववियू पर्वतका अध्यक्ष नबराज भुसाल र अनेरास्ववियूका सदस्य मिलनबाबु पौडेलको नेतृत्वमा भएको कार्यक्रममा विद्यार्थी नेतासँगै एमालेका युवा नेता किशोर सापकोटा, युवा संघका केन्द्रीय सदस्य थमनारायण पौडेल, ढाकाराम सापकोटा, जिल्ला सचिब नबराज गिरी लगायतको सहभागिता रहेको थियो । आजको आन्दोलन सांकेतिक रहेको र आगामी दिनमा पार्टीको हित विपरित लाग्ने बिरुद्ध कडा संघर्षमा उत्रिने नेताहरुले बताएका छन् ।

सम्बन्धित खवर