आउनुस, एकतावद्ध एमाले बनाऊँ


पर्वत,भदौ २२ । नेकपा एमालेमा सृजना गरिएका समस्याहरु सैद्धान्तिक, वैचारिक र नीतिगत सवालमा केन्द्रित थिएनन् भन्नका लागि अव धेरै तर्क गरिरहनु पर्दैन्, घटनाक्रमबाट स्वतः पुष्टि भएको छ । लोकतन्त्रको सुन्दर पक्ष भनेको निर्वाचन हो, राष्ट्रिय निर्वाचन होस् वा पार्टीभित्र हुने अधिवेशन वा महाधिवेशन नै किन नहोस् । निर्वाचन परिणामलाई स्विकार गर्नु, पार्टीभित्रका समस्याहरु पार्टीको विधान, नियमावली भित्रै रहेर समाधान खोज्नु अनिवार्य शर्त हो ।
मत मतान्तरहरुलाई अन्तरसंघर्षको रुपमा बहसमा लैजान सकिन्छ । कार्यकर्ताहरुविच आफनो मत र विचारलाई स्थापित गर्न सकिन्छ, जसको आधारमा सहि विचारले अवश्य पनि मान्यता पाउनेछ, ग्रहणयोग्य बन्नेछ । कोही कसैलाई असाध्यै ठिक लागेको विचार वा शैली अरु धेरैलाई बेठिक लाग्यो भने के गर्ने ? मान्नु परेन र ? तर विभिन्न बहानामा एमालेलाई चौतर्फी आक्रमण गरियो । लुछियो । शर्त माथि शर्त थपेर कतै मिली पो हाल्छ की भनेर एकता भाड्न अनेक प्रपञ्च गरियो । एमाले भित्रै बसेर एमाले सिध्याउन उद्यत प्रवृत्तिले दुनिया हँसायो । राजनीतिक ईमान र नैतिकता लाजशरमको हद भन्दा तल झर्यो । आफनै नेतृत्व विरुद्ध, आफनै सरकार ढाल्न, आफनै पार्टी समाप्त पार्न विरोधीहरुसंग गठबन्धनको सौदावाजी गरियो । राजनीतिमा यो जति बेईमानी र अपराध अरु कुनै हुन सक्दैन् ।
लेनिनवादी संगठनात्मक सिद्धान्तका मुलभूत पक्षहरु (१) जनवादी केन्द्रियता (२) आत्मालोचना र आलोचना (३) पार्टी अन्तरसंघर्ष जस्ता पक्षहरुले अन्तरसंघर्षले कम्युनिष्ट पार्टीलाई निरन्तर गतिशिल र क्रान्तीकरण गरिरहन्छ भन्ने मान्यता राख्दछ । अन्तरसंघर्ष जव निर्णायक तहमा पुग्दछ त्यतिवेला यस्तो संघर्ष दुई लाईन अन्तरसंघर्ष (यतिवेला दुई लाईन संघर्ष विचारमा भन्दा पनि व्यक्तिगत कुण्ठा, पद पावरका लागि वार्गेनिङका रुपमा प्रस्तुत भएको छ ।) का रुपमा अभिव्यक्त हुन्छ । दुई लाईन संघर्षमा सहि विचारले विजय हासिल गर्दा यसले निकाल्ने निष्कर्ष एकता– संघर्ष र रुपान्तरणको रुपमा प्रस्तुत हुनुपर्दछ । तर यतिवेला अन्तरसंघर्षले एकता–संघर्ष र फुटका रुपमा गलत मार्ग लिएको छ । यसलाई माक्र्सवादी चरित्र मान्न सकिन्न् ।
जनतामा स्थापित नाम हो नेकपा एमाले । नेपालमा पहिलो पटक सामाजिक सुरक्षा र सामाजिक न्यायको पक्षमा जनपक्षिय नीति र कार्यक्रम अगाडी सार्ने सूर्य चिन्ह वाहक झण्डाको परिचय बनाएको पार्टी हो नेकपा एमाले । कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गर्ने तथा शान्तिपूर्ण प्रतिस्पर्धाको माध्यम हुँदै कामबाट श्रेष्ठता हासिल गरेर समाजवादका आधार तयार गर्ने विचारका प्रवर्तक जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलिय जनवाद जस्तो वैज्ञानिक विचार बोकेको पार्टी हो नेकपा एमाले । विकासलाई स्वभाविक प्रकृयाको रुपमा ग्रहण गर्ने यथास्थितीवादी चिन्तनको पर्दा च्यातेर नेपाललाई दु्रुत गतिमा सुविचारित योजना मार्फत समृद्धिको मार्गमा दौडाउन सकिन्छ भन्ने सपना देखाउन सफल भएको दृढ ईच्छाशक्ति सहितको नेतृत्व भएको पार्टी हो नेकपा एमाले । सदियौंदेखि वैदेशिक हस्तक्षेप र उत्पिडनबाट पीडित नेपाललाई संसार सामु शिर ठाडो हुने गरि आफनो जमिनमाथि योजनावद्ध र संवैधानिक रुपमा दावी प्रस्तुत गरि राष्ट्रवादको झण्डा फहराउने कामको नेतृत्व गरेको पार्टी हो नेकपा एमाले । समाजका हरेक पक्षहरु ः वृद्धवृद्धा, अपाङ्गता भएकाहरु, शिक्षक, कर्मचारी, सेना प्रहरी, महिला स्वास्थ्य स्वयमसेविकाहरु, बाल विकास शिक्षिकाहरु, घरवारविहिन, भूहिहिन, एकल महिला, दलित, मजदुर, व्यापारी, खरको छाना भएकाहरु, मृगौलाका विरामीहरु लगायत अन्य अन्य पक्षहरु.. को बाँकी होला ? कुन घर बाँकी होला ? जुन घर नेकपा एमाले सरकारको नीति बजेट तथा कार्यक्रमबाट लाभान्वित नभएको होस् । यस्ता सुन्दर पक्षहरु सहित जनतामा स्थापित पार्टीका नेता कार्यकर्ताहरुले आफनो सुगन्ध चिन्न नसकेर विरोधीहरुको लहै लहैमा लाग्नु ऐतिहासिक भुल थियो । क्षणिक सत्ता स्वार्थ, भागवण्डा र महाधिवेशन पूर्व नै महत्वपूर्ण जिम्मेवारी खोज्ने गैर राजनीतिक, गैरसंवैधानिक आकांक्षाले गर्दा एमालेजन नै दुई तिन तिर हुने र आपसमा झगडा गर्ने परिस्थितीको नाटक मञ्चन हुन पुग्यो ।
यतिवेला विगतका पार्टी सिध्याउने कोशिशहरु, नेतृत्वको बदनाम गर्ने कुत्सित मनसायहरु, आफनै नेतृत्वको पुत्ला दहन गर्ने हदसम्मका हर्कतहरु, कता पट्टिको पल्ला भारी होला र त्यतै लागौंला भन्ने अवसरवादहरु, आफनै गतिविधि र बदनियतले पार्टीमा विखण्डनको घटनापछि आफनो राजनीतिक भविष्यको चिन्ता भएर गठबन्धनको संगतबाट अलगिएकाहरु यतिवेला मर्माहत भएका छन् । हामी प्रष्ट थियौं , एमाले नै असल विचार सहितको, अनुशासित कार्यकर्ता सहितको पार्टी हो । पार्टीमा जस्तोसुकै चुनौती आएपनि, विरोधीहरुको आक्रमण र षडयन्त्र भएपनि जनताको मन मष्तिस्कबाट एमाले हटाउन सक्दैनन् र एमाले पुरानै अवस्थामा फर्किनेछ भन्ने आत्मविश्वासका साथ हामी एमालेलाई जोगाउन लाग्यौं । त्यसैले हामीले एमालेको रक्तरञ्जित हँसिया हथौडाको झण्डा, लोकप्रिय सूर्य चिन्ह, नेपाली समाज सुहाउँदो जवजको मर्मलाई जोगाएका छौं, यसविचमा हामीले कठिनसाध्य परिस्थितीको सामना गर्यौं । हामी माथि पटक पटक आक्रमण गर्ने कोशिश भए । एमालेमा आवद्ध हुन चाहने कार्यकर्ता र एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधीहरुलाई एमालेका बैठक तथा भेलामा सहभागी हुनबाट रोक्न अनेक हतकण्डा अवलम्वन गरिए । डर धम्की दिने तथा स्थानीय सत्ताको परिचालन समेत गरियो । यी सवैका बावजुद पार्टीप्रति वफादार कार्यकर्ताको हिम्मत र जनताको समर्थनको आडभरोसामा एमाले पुर्नस्थापित हुने मार्ग तर्फ अग्रसर छ । शरिरमा एकथोपा रगत बाँकी रहेसम्म पनि एमाले जोगाउन हिंडेकाहरु संकिर्ण सोच राख्दैनन् । आफनो घरभित्रको समस्या घरभित्रै छलफल गरेर समाधान गर्न सकिन्छ ।
आउनुस एमाले तपाईहरुको पनि घर हो, तपाईहरुको पनि मेहनत, त्याग, योगदान र क्रियाशिलताले बनेको पार्टी हो । फेरि मिलेर एमालेलाई पुर्नजागृत गरौं । सवै विगतका तितामिठा कुरा बिर्सेर एमालेमा एकतावद्ध बनौं । किन की एमालेकै नीति, लक्ष्य उहि, मदन भण्डारीले प्रतिपादन गरेको जवज नै मार्गदर्शन रे, संगठनको ढाँचा उस्तै, संगठन सञ्चालनको तरिका उस्तै रे , किन चाहियो अर्को एमाले ? यहि स्थापित एमाले नै काफी हुन्न र ? अरुको सेवा गर्न, अरुलाई खुशी पार्न आफनो घर जलाउने काम गर्नेहरुका बनावटी, क्षणिक र आवेगपूर्ण पहलको अलमलमा नपरौं । यतिवेला एमालेमा समस्या आउँदा, एमालेमा विखण्डनको अवस्था हुँदा अरु पार्टीमा खुशी र उमंग पैदा भएको छ । यसबाट प्रष्ट हुन्छ एमालेको विखण्डन अलग दल खोल्नेहरुका लागि भन्दा अरु कसैको आवश्यकता रहेछ । आफनो पार्टीका काम र गतिविधि छाडेर सामाजिक सञ्जालमा अरु नै पार्टीका नेता कार्यकर्ता रमाईरहेका छन् । हामी कस्का लागि प्रयोग हुँदैछौं ? एकातिर घटनाक्रम, खुशीयाली अर्कोतिर । एमालेमा आगो सल्काएर क्षणिक रापतापमा रमाउने प्रवृत्तिलाई समयमै चिनौं र एकतावद्ध एमाले निर्माणमा जुटौं । एमालेमा नै हाम्रो भविष्य खोजौं किनकी एमाले हामी सवैको मेहनत, क्षमता, योगदान र कार्यअनुभवका आधारमा निर्माण भएको पार्टी हो ।

सम्बन्धित खवर