ठुलीपोखरीमा एमालेका वृहत कार्यकर्ता भेला सम्पन्न


पर्वत, भलदौ २६ । नेकपा एमाले कुश्मा नगरपालीका अन्तरगत वार्ड नं। १२, ठुलीपोखरीमा वृहत कार्यकर्ता भेला सम्पन्न भएको छ । पछिल्लो राजनीतिक घटनाक्रमपछि एमालेको संगठनलाई गतिशिल बनाउने, कार्यकर्ताहरुलाई सशक्त तरिकाले परिचालन गर्ने तथा एमाले सरकारले अगाडी सारेका जनमुखी बजेट तथा कार्यक्रमको जनस्तरमा प्रचार प्रसार गर्ने उद्धेश्यले भेला आयोजना गरिएको थियो । भेलालाई सम्वोधन गर्दै नेकपा एमाले जिल्ला कमिटि पर्वतका उपसचिव गोविन्द पहाडीले तत्कालिन परिस्थितीमा केहि उल्झन सृजना गर्न खोजिए पनि जनताको मन मस्तिस्कमा एमाले अटल रुपमा रहिसकेको छ भन्दै एमालेलाई कुनै पनि अपवित्र गठबन्धनले परास्त गर्न नसक्ने ठोकुवा गर्नुभयो । “कुनै पनि एउटा घर नहोला जुन एमाले सरकारले ल्याएका बजेट तथा कार्यक्रमबाट प्रभावित नभएको होस्” । उहाँले एमाले सरकारका पालामा पर्वत जिल्लामा आएका बजेट र योजनाहरुको चर्चा गर्दै यी कामका आधारमा नै पर्वतमा एमाले पहिलो पार्टीको रुपमा रहिरहने भन्दै कार्यकर्तालाई उत्साहका साथ जनतासंग निरन्तर सम्पर्कमा रहन र सुखदुखको साथी बन्न आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा एमाले कुश्मा नगरकमिटिका अध्यक्ष मिन प्रसाद श्रेष्ठ, सचिव गणेश पौडेल तथा प्रदेश विभाग सचिव किशोर सापकोटाले समेत आफनो धारणा राख्नु भएको थियो । कार्यक्रममा वार्डका निर्वाचित अध्यक्ष राजेन्द्र पौडेलले आफु वार्ड अध्यक्षमा निर्वाचित भएपछि वार्डमा भएका काम र तिनको उपलब्धी तथा भावी योजनाका वारेमा जानकारी गराउनु भएको थियो । भेलाले टोल भेला आयोजना गर्ने तथा विभिन्न जनवर्गिय संगठनहरुको गठन र परिचालन गर्ने कार्ययोजना निर्माण गरेको छ ।

सम्बन्धित खवर