जिल्ला अस्पताल पर्वतको अर्को उदाहरणीय काम, अक्सिजन भर्न सिलिण्डर बोकेर पोखरा जानुपर्ने अवस्थाको अन्त्य


पर्वत, मंसिर १७ । पर्वत जिल्ला अस्पतालमा अक्सिजन प्लान्टमा भर्ने उपकरण ‘फिलिङ सिस्टम’ जडान गरीएसंगै अक्सिजन भर्न सिलिण्डर बोकेर पोखरा जानुपर्ने अवस्थाको अन्त्य भएको छ । यस अघि अक्सिजन प्लान्टमा उत्पादन भएको अक्सिजन सोझै अस्पतालमा रहेको बिरामीको बेडमा पाइप लाइनबाट पुग्ने भए पनि अक्सिजन सिलिण्डरमा भर्न भने मिल्दैथ्यो । पाइप लाइनबाट खपत भएर रहेको अक्सिजन सिलिण्डरमा भर्न अब सहज हुने र अक्सिजनको अभाव टार्न मद्दत पुग्ने पर्वत अस्पतालका निवर्तमान अध्यक्ष गोविन्द पहाडीले बताउनुभयो । अक्सिजनको ‘फिलिङ सिस्टम’ नहुँदा अस्पतालको अक्सिजन प्लान्टमा उत्पादन भएको आधा जस्तो अक्सिजन खेर गइरहेको थियो । अक्सिजन प्लान्ट नभएका अस्पतालमा सिलिण्डरमा अक्सिजन चाहिने र अहिले मुलुकभर अक्सिजनको समस्या भन्दै समयमै आपूर्ति नभएको अवस्थामा जिल्ला अस्पतालको अक्सिजन प्लान्टबाट उत्पादन भएको अक्सिजन सिलिण्डरमा भर्न र धेरैको जीवन रक्षाको लागि टेवा पुग्ने पहाडीले बताउनुभयो । पहाडीका अनुसार पर्वतमा क्रियाशिल ८ वटा लायन्स क्लवहरुको सहयोग र संयोजनमा उत्पादित अक्सिजनलाई सिलिण्डरमा भर्ने मेशिन जडान गरिएको हो । पहाडीले लायन्स क्लवहरुको तर्फबाट १ करोड ८० लाख बराबरका अत्याधुनिक उपकरण तथा मेशिनहरु जडान भएर सेवा प्रारम्भ भएको बताउनुभयो ।
“उत्पादन गरेको पुरै अक्सिजन अस्पतालले खपत गरेको छैन, यहाँ प्रयोग गर्न उत्पादित अक्सिजन बिरामीको बेडमै पु¥याइएको छ अब सिलिण्डरमा भर्ने व्यवस्था हुँदा अन्यत्र पु¥याउन कठिन नहुने भएको छ” पहाडीले भन्नुभयो “अस्पतालमा खपत नभएको समयको अक्सिजन सिलिण्डर भर्न पाएसंगै कोरोना महामारीको समयमा अन्यत्र समेत अक्सिजन दिन सकिने छ ।” अस्पतालका मे.सु. डा. ढुण्डीराज पौडेलका अनुसार गत वर्ष गण्डकी प्रदेश सरकारको बजेटमा १५ सिलिण्डर प्रति दिन क्षमताको अक्सिजन प्लाण्ट जडान गरिएको थियो भने यस वर्ष नेपाल चिकित्सक संघको सहयोगमा ४० सिलिण्डर प्रति दिन क्षमताको अर्को अत्याधुनिक प्लाण्ड जडान भएपछि बिरामीले सिधै बेडमा नै अक्सिजन लिन सक्ने गरि प्रवन्ध मिलाईएको छ । ३ वर्ष अगाडी सामान्य केहि सेवाहरु मात्र प्रवाह गरिरहेको पर्वत अस्पतालले यो ३ वर्षको अवधिमा सुविधासम्पन्न ठुला अस्पतालले प्रदान गर्ने अपरेशन, मृगौला डायलासिस, डिजिटल एक्सरे तथा अत्याधुनिक ल्याव सेवाहरु प्रदान गर्न सक्ने भएको छ ।

सम्बन्धित खवर