शान्ति सुरक्षा र पुर्वाधारमा फलेवास नगरपालिकाको चासो

पर्वत,भदौ २५। फलेवासमा सबैजसो सडक सहज सञ्चालन गर्नेदेखि प्रहरी चौकी, वडा कार्यालय, अस्पताल लगायतका विषयमा नगर कार्यपालिकाले तदारुकता देखाउन शुरु गरेको छ । शनिबार फलेवास नगरपालिकाको कार्यालयमा बसेको कार्यपालिकाको बैठकले बिभिन्न १० वटा महत्वपुर्ण निर्णय गरेको हो ।
नगरप्रमुख गंगाधर तिवारीको अध्यक्षतामा बसेको बैठकले बडादसैं, तिहार, छठलगायत पर्वहरूमा फलेवास नगरपालिकाभित्र सडक आवागमनलाई सहज, सुलभ र थप व्यवस्थित बनाउने । निर्णय गरेको हो । त्यसका लागि नगरको केन्द्रबाट सबै वडासम्म पुग्ने मुख्य सडकलाई पहिलो प्राथमिकतामा राख्ने र अन्य बस्तीबस्ती पुग्ने सडकहरुलाई समेत क्रमशः प्राथमिकताका आधारमा मर्मत गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता अच्यूत तिवारीले बताउनुभयो ।
फलेवासमा निर्माण हुन बाँकी वडा नम्बर ५ र ७ मा वडा कार्यालय निर्माणको प्रकृया सुचारु गर्नका लागि सम्बन्धित वडाध्यक्षहरुबाट ठोस प्रस्ताव माग गर्ने निर्णय पनि कार्यपालिकाले गरेको छ । यथाशिघ्र जग्गा छनोट गरि वडा कार्यालयहरु निर्माणको प्रकृया अघि बढाउन सबै कार्यपालिका सदस्यहरु सहमत हुनुभएको छ । त्यस्तै नगरपलिकाभित्रको शान्तिसुरक्षालाई मध्यनजर गर्दै पालिकाभित्र इलाका प्रहरी कार्यालय तथा वडा नम्बर ३ शंकरपोखरी, वडा नम्बर ७ र ८ मा पायक पर्नेगरि प्रहरी चौकी माग गर्ने र त्यहाँ चौकी स्थापनाका लागि प्रकृया अघि बढाउने निर्णय भएको छ । त्यस्तै नगरपालिकाभित्रका स्थायी कर्मचारीहरुको तलबी प्रतिबेदन कानून बमोजिम पारित गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले बताउनुभयो । त्यस्तै नगरभित्र सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७९÷८० का लागि सबै वडाहरूबाट प्राप्त योजनाहरूलाई स्वीकृत गर्ने र ती आयोजनाहरूको काम अघि बढाउने, निर्माणाधिन मनमोहन शान्ति बाटिकाको निर्माण कार्यमा उत्पन्न जटिलतालाई समाधान गर्न सहजीकरण समिति वा समस्या समाधानका लागि सुझाव सिफारिस समिति गठन गर्ने निर्णय भएको छ । त्यस्तै फलेवास–५ का अध्यक्ष नारायणप्रसाद लामिछानेकी आमा र वडा नं. ८ का वडा सदस्य रीता सार्कीका सासुआमाको निधनप्रति गहिरो दुःख व्यक्त गर्ने निर्णय भएको छ । त्यस्तै नेपालले समेत ३ दिने शोक मनाइरहेको मित्रराष्ट्र बेलायतका महारानी एलिजावेथ द्वितीयको निधनमा कार्यपालिकाले समेत शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको छ । नगर उपप्रमुख शोभाकुमारी क्षेत्री, कार्यपालिकाका सचिव एवं प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेल नगरपालिकाका वडाध्यक्षहरु, कार्यपालिका सदस्य समेतको बैठकमा नगरको विकासमा पक्ष र बिपक्ष नभनि एक भएर अघि बढ्ने सहमति भएको प्रवक्ता तिवारीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर