जापानमा पानी जहाजमा यात्रा गरिरहेका १० जनामा कोरोना भाइरसको सङ्क्रमण देखियो


पर्बत, माघ २२ /जापानको योकोहामा बन्दरगाहमा जहाजमा यात्रा गरिरहेका कम्तीमा १० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । ’डायमण्ड प्रिन्सेस’ नाम गरेको जहाजमा रहेका तीन हजार सात सय यात्रुमध्ये तीन सय यात्रुको परीक्षण गरिसकिएको छ । परीक्षण गर्दै जाँदा सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने बताइएको छ । गएको महिना जहाजमा यात्रा गरिरहेका हङकङका एक जना ८० वर्षीय वृद्ध भाइरसका बिरामी परेपछि जाँच सुरु भएको थियो । जापानको राष्ट्रिय प्रसारण सङ्गठन ’एनएचके’ ले सङ्क्रमण देखिएको १० जना नै ५० वर्षभन्दा माथिका रहेको बताएको छ ।
चार जना ५० वर्ष, चार जना ६० वर्ष, एक जना ७० वर्ष र अर्का एक जना ८० वर्षका रहेका बताइएको छ । सङ्क्रमण देखिएका मध्ये दुई जना जापानी नागरिक रहेको बताइएको छ । तर सङ्क्रमण देखिएका मध्ये कोही पनि गम्भीर अवस्थामा नरहेको एनएचकेले जनाएको छ । जापानी स्वास्थ्य मन्त्री कसुनोबु कातोले बुधबार सञ्चारमाध्यमसँग भने, ‘सङ्क्रमण देखिएकाहरुलाई स्वास्थ्य संस्थामा पठाइएको छ ।’कोरोनाकोक कारण चीनमा ४ सय ९० जनाको ज्यान गएको छ भने चीनबाहिर २ जनाले ज्यान गुमाएका छन् । कोरोनाबाट सङ्क्रमितको सङ्ख्या २० हजार नाघिसकेको छ ।

सम्बन्धित खवर